Logo

विविध

जोशीद्वारा सातै महादेशमा म्याराथन, गिनिज वर्ल्ड रेकर्डमा नामाङ्कित



न्युयोर्क (अमेरिका) । नेपाली मूलका बाल जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्नुभएको छ । नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर विश्वका सात वटै महादेशमा म्याराथन सम्पन्न गर्नुभएकाले उहाँलाई यो सम्मान दिइएको हो ।

अन्तर्राष्ट्रिय अन्तरमहादेशीय म्याराथन क्लबले आयोजना गरेको ७७७ विश्व म्याराथनको यो नवौँ संस्करण हो । यो म्याराथनमा उहाँको पहिलो सहभागिता हो ।

यो चुनौतीपूर्ण म्याराथनमा सहभागी भएर उहाँ अमेरिका फर्किसक्नुभएको छ । सुर्खेत घर भई हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका ४२ वर्षीय जोशी सात वटा महादेशमा, सात दिनमा, सात वटा म्याराथनमा सहभागी हुनुभएको हो ।

यो म्याराथनमा उहाँलगायत २० वटा देशका ५६ धावकको सहभागिता थियो । यो म्याराथन जनवरी ३० मा सुरु भई फेब्रुअरी ५ मा सम्पन्न भएको हो ।

सात वटा महादेश, लगातार सात दिनमा, सात वटा म्याराथन ठिक ठिक समयमा गर्नुपर्ने भएकाले यसको नाम नै ७७७ विश्व म्याराथन रहेको हो ।

सहभागी धावकले सात दिनमा २९५ किमी दौडेका थिए भने विमानमा ६८ घण्टा बिताएका थिए । एन्टार्टिकाबाट सुरु भएको घडीको पहिलो टिकटिक, त्यसपछि अफ्रिकाको केपटाउन, अस्ट्रेलियाको पर्थ, एसियाको दुबई, युरोपको म्याड्रिड, दक्षिण अमेरिकाको फोर्टालेजा हुँदै अमेरिकाको मायामीमा पुगेर घडीको टिकटिक रोकिएको थियो । म्याराथन दौड ४२.१९५ किमी रहेको हुन्छ ।

दौरासुरुवाल लगाएर दौडँदा समस्या भएन त भन्दा उहाँले भन्नुभयो, “अलि अलि समयमा त फरक प¥यो तथापि राम्रै भयो । यो नेपाली पोसाक हो नि ।” उहाँले अमेरिका र नेपाल दुवै देशका तर्फबाट आफू सहभागी भएको जानकारी पनि दिनुभयो । नेपाली पहिरन लगाएर दौडने तेज धावक भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा जोशीको नाम अङ्कित भएको छ । उहाँले यो म्याराथन चार घण्टा ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्नुभएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार ०७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।