गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो ।
प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए ।
मतदान कार्य सञ्चालनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन र खटनपटनको काम भइरहेको उनको भनाइ छ । कतिपय जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने केही जिल्लामा सुरु गर्ने तयारी छ ।
जिल्ला निर्वाचन कार्यालय, बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बुधबार र बिहीबार उक्त तालिम सञ्चालन गरिने बताए। तालिम पश्चात यही फागुन १८ गते कर्मचारी सम्बन्धित मतदानस्थलमा पुग्ने उनको भनाइ छ । गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।
“मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ बरालले बताए ।
एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।
गण्डकी प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ ।
गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।





















प्रतिक्रिया