Logo

अनलाइनपाना खोज

ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख योगेशविरुद्ध अख्तियार उजुरी



काठमाडौं। नेपाल राष्ट्र बैंकको अनुसन्धानमा रहेका ग्लोबल आईएमई बैंक लिमिटेडका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दर्ता भएको छ।

बैंकका पब्लिक रिलेसन अफिसरसमेत रहेका पोखरेलमाथि बैंककै कर्मचारी पत्नी प्रभा पन्थीको नाममा कम्पनी खोली करोडौं  आर्थिक अपचलन गरेको आरोप छ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले प्राप्त उजुरीमाथि लामो समयसम्म पनि छानबिन नगरेको भन्दै बैंककै एक शेयरधनीले अख्तियारमा उजुरी गरेको दावी गरेका छन्।

अख्तियारमा दायर गरिएको उजुरीमा पोखरेलले पत्नीको नाममा ‘थर्ड पोल मिडिया ग्रुप’ कम्पनी खोल्दै मासिक दुई लाख रुपैयाँ उक्त कम्पनीको खातामा जम्मा गराउँदै आएका छन्। बैंकको प्रमोसन तथा पब्लिक रिलेसनको बजेट सो कम्पनीमार्फत भुक्तानी हुँदै आएको र यसमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सीइओ सुरेन्द्रराज रेग्मी र डेपुटी सीइओ सुमन पोखरेलको संलग्नता रहेको उल्लेख छ।

उजुरीमा भनिएको छ, “ग्लोबल आईएमई बैंक लिमिटेडका बजार प्रबन्धक प्रमुख तथा पब्लिक रिलेशन अफिसर योगेश पोखरेलले श्रीमती प्रभा पन्थीको नाममा ‘थर्ड पोल मिडिया ग्रुप’ खोली मासिक दुई लाख रुपैयाँ नियमित रुपमा बैंकबाट लिँदै आएका छन्। श्रीमती आफै बैंककै कर्मचारी हुन्। बैंकको मनमैजु शाखामा कार्यरत उनीसँग सम्बन्धित यो काममा सीइओ र डेपुटी सीइओले समेत सघाएको दाबी छ।”

अख्तियारमा C-०२७७७२ नम्बरमा दर्ता कायम उजुरीमा पोखरेल, उनकी श्रीमती र सम्बन्धित कर्मचारीहरुमाथि कारबाहीको माग गरिएको छ। यस प्रकरणमा नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको र राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अनुसन्धान गर्दै पोखरेलसहित बैंकका उच्च अधिकारीलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ।

राष्ट्र बैंक ऐन तथा वाफियामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा लिन, परिवारसँग सम्बन्धित कम्पनी वा कारोबारमा संलग्न हुन, वा अस्वाभाविक सुविधा पाउन पाइँदैन। बाफियाको दफा ९९ अनुसार, यस्तो उल्लङ्घन भएमा बैंक वा वित्तीय संस्थाका कर्मचारी, पदाधिकारी वा सञ्चालकविरुद्ध कारबाहीका लागि निर्देशन दिन सकिने प्रष्ट व्यवस्था छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार ०९:४४   :  बजे

2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।