काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवनमा ६० प्रतिशत मत खसेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा बिहीबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानमा ६० प्रतिशतले मात्र मत हालेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक चरणमा ६० प्रतिशत मत खसेको हो । पुरा रिपोर्ट आउन बाँकी छ ।
जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
३ हजार १८५ जना अस्थायी मतदाता रहेका छन् । जसमा १६२ जना कारागारमा रहेका कैदीबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसालेका छन् ।मतदान सकिएपछि हाल मतदान स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।
मतपेटिका सङ्कलन सम्पन्न भए लगत्तै सर्वदलीय बैठक बसेर मतगणना कार्य थालिने चितवनका मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिए ।३ निर्वाचन क्षेत्र रहेको चितवनमा तीन ठाउँमा मत गणना गर्ने तयारी रहेको छ ।
चितवन १ को मतगणना खैरहनी नगरपालिका ६ को भुवानीशंकर क्याम्पसमा, चितवन २ को भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा र चितवन ३ को रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना गरिनेछ ।
मतगणनास्थलमा तारजालीको छेकबार लगाउनुका साथै सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।





















प्रतिक्रिया