पाल्पा । पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उनीहरूले महाकाली-मेची साइकल यात्रा गर्न लागेका हुन्
यहाँका २५ वर्षीय शान्तम थैबा, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लागेका हुन् । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु हुनेछ । साइकल यात्रामा निस्कन लाग्नुभएका युवालाई पाल्पा साइक्लिङ सङ्घले आज एक कार्यक्रमकाबीच बिदाइ गरेको छ ।
महाकाली नदीबाट सुरु हुने साइकल यात्रा मेची नदी पुगेर सम्पन्न हुने पाल्पा साइक्लिङ सङ्घका उपाध्यक्ष अमन शाक्यले बताउनुभयो । उहाँका अनुसार ‘साइकल चलाऔँ नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने मूल नाराका साथ साइकल यात्रा हुन लागेको हो ।
नेपालभर शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको उपाध्यक्ष शाक्यले बताए।
“गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त हुने गर्दछ, हामी एकताको सन्देश फैलाउन चाहन्छौँ । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएका छन्, यसले स्वस्थ रहने सन्देशसमेत प्रवाह गर्नेछ”, शाक्यले भने, “त्यसैले शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गर्न लागेका हौँ ।” एघार दिनसम्म हुने साइकल यात्रामा ११०० किलोमिटर दूरी तय गरिने उनले जानकारी दिए।





















प्रतिक्रिया