वेस्ट बैंक । इजरायली सेनाको गोली प्रहारबाट अधिनस्थ वेस्ट बैंकमा एक प्यालेस्टिनी दम्पती र उनीहरूका दुई सन्तानको विभत्स हत्या भएको छ। उत्तरी वेस्ट बैंकको तम्मम सहरमा
आक्रमणमा परेर कारमा सवार अन्य दुई बालबालिका घाइते भए पनि उनीहरू जीवितै रहन सफल भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा ३० वर्षीय अलि, उनकी पत्नी वाद र उनीहरूका दुई छोराहरू– पाँच वर्षीय मोहम्मद र सात वर्षीय ओथमान रहेका छन्।
अस्पताल पुर्याइएका उनीहरू सबैको अनुहार र टाउकोमा गोली लागेको देखिएको मन्त्रालयले पुष्टि गरेको छ। सोही कारमा रहेका आठ र एघार वर्षका अन्य दुई छोराहरूले आफ्ना आमाबुबा र भाइहरूको आँखा अगाडि नै मृत्यु भएको देखेका थिए।
उनीहरू भने गोलीको छर्रा लागेर सामान्य घाइते भएका छन्।यस घटनाबारे स्पष्टीकरण दिँदै इजरायली अधिकारीहरूले उक्त समयमा सेना र अर्धसैनिक सीमा प्रहरीले सो सहरमा संयुक्त अपरेसन चलाइरहेको दाबी गरेका छन्।
इजरायली सेना र प्रहरीद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त कार तीव्र गतिमा इजरायली सुरक्षाकर्मीतर्फ आएको र आफूहरू असुरक्षित महसुस भएपछि जवाफी कारबाहीमा गोली चलाएको उल्लेख गरिएको छ।
उनीहरूले यस घटनाको थप अनुसन्धान भइरहेको समेत बताएका छन्।यता प्यालेस्टिनी रेड क्रिसेन्टले भने इजरायली सेनाले सुरुमा घाइतेहरूको उद्धारमा अवरोध पुर्याएको गम्भीर आरोप लगाएको छ।
रेड क्रिसेन्टका उद्धारकर्मीहरूलाई कारभित्र रहेका घाइतेसम्म पुग्न नदिई इजरायली सुरक्षा बलले उल्टै उक्त क्षेत्र छोड्न आदेश दिएको विज्ञप्तिमा उल्लेख छ।




















प्रतिक्रिया