काठमाडौं । शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिवसमेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्की आयोगको प्रतिवेदनले नै उक्त आयोग निष्पक्ष नभएको पुष्टि गरेको दाबी गरेका छन्।
उनका अनुसार कार्की आयोग र निर्वाचनमा प्रयोग गरिएको अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयास गरिएको थियो। सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ।
पोखरेलले लेखेका छन्, “निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ।” उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उल्लेख गरेका छन्।
अबको राजनीतिक यात्रा सहज नहुने संकेत गर्दै उनले राष्ट्र र लोकतन्त्रले केही समय चुनौतीको सामना गर्नुपर्ने बताएका छन्। यस्तो परिस्थितिमा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई आफ्ना दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण हुन सक्ने उनले सुझाएका छन्।
तर उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादलाई दीर्घकालीन समाधानको रूपमा लिन नसकिने स्पष्ट पारेका छन्। “यी प्रवृत्तिहरू आजका चुनौतीहरूको समाधान होइनन् र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइनन्,” उनले उल्लेख गरेका छन्।





















प्रतिक्रिया