Logo

समाचार

खराब मौसमका कारण मुस्ताङ हेलिकप्टर दोलखामा अवतरण, चालकदलसहित ६ जना नै सुरक्षित



काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ । शुक्रबार दिउँसो लाप्चाबाट चरिकोटका लागि उडेको सो हेलिकोप्टर केही समय सञ्चार सम्पर्कविहीन भएपछि खोजी गर्दा दोलखाको विगु गाउँपालिकामा फेला परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन-एएनओ कलसाइन भएको उक्त हेलिकोप्टर दिउँसो १२:१७ बजे लाप्चाबाट उडेको थियो । भौगोलिक विकटता र मौसममा आएको खराबीका कारण उडान भरेको केही समयमै उड्डयन सञ्चार प्रणालीसँग यसको सम्पर्क विच्छेद भएको थियो ।

हेलिकोप्टर सम्पर्कविहीन भएलगत्तै खोजीका लागि स्थानीय तह, नेपाल प्रहरी र नेपाली सेनाको पैदल टोलीका साथै नेपाली सेनाको हेलिकोप्टर समेत परिचालन गरिएको थियो ।

खोजी कार्यका क्रममा बेलुका ५ बजे उक्त हेलिकोप्टर दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ स्थित लाप्चे गुम्बा नजिकै फेला परेको हो ।

खराब मौसमका कारण हेलिकोप्टरलाई पाइलटले सुरक्षित रूपमा अवतरण गराएको पाइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार हेलिकोप्टरमा सवार १ जना चालक दलका सदस्य र ५ जना यात्रु गरी कुल ६ जना नै सुरक्षित रहेका छन् ।

प्राधिकरणले खोज तथा उद्धार कार्यमा सक्रियताका साथ संलग्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरूलाई विज्ञप्तिमा्फत धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार २०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।