काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले विदेश रोजगारीका लागि जाने श्रमिकबाट लिइने अभिमुखीकरण तालिम शुल्क ७०० रुपैयाँभन्दा बढी नलिन कडा निर्देशन दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै अभिमुखीकरण तालिमको शुल्क यथावत् ७०० रुपैयाँ नै रहेको स्पष्ट पारेको हो। पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २१०० रुपैयाँसम्म असुलिरहेको गुनासो आएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो।
विभागकाअनुसार अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७०० रुपैयाँ मात्र निर्धारण गरिएको छ। २०८१ असोज १३ गते जारी प्रेस विज्ञप्तिअनुसार यही शुल्क कायम रहेको जनाइएको छ।
तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइएमा सम्बन्धित संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने चेतावनी विभागले दिएको छ। साथै, यस्ता गतिविधि भएमा प्रमाणसहित उजुरी गर्न पनि आग्रह गरिएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा सम्बन्धित नियमावलीअनुसार नै तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।



















प्रतिक्रिया