Logo

समाचार

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न



काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ । बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २० औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ । साथै, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई विभिन्न समितिमा विभाजन लगायतका विषयमा पनि विचार–विमर्श गरिएको थियो ।

छलफलका क्रममा सभाको आगामी बैठकको कार्यसूची, बैठक कक्षको सीट योजना, तथा प्रस्तावित कार्यतालिकाका विषयमा निर्णयात्मक छलफल भएको समितिले जनाएको छ । त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको चयन, उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया लगायतका विषय पनि बैठकको एजेन्डामा समेटिएका थिए ।

यसैगरी, विभिन्न दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्नका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा अन्य विविध विषयहरूमा समेत विचार आदानप्रदान गरिएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको २०औँ अधिवेशनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको आवश्यकता औंल्याए । उनले सहकार्य र सहजीकरणका लागि सबै पक्षलाई आग्रह गरे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १७:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।