Logo

विविध

हुलाक सेवाको प्रभावकारिता बढाउन मकवानपुरका प्रजिअ अधिकारीको अनुगमन



मकवानपुर । जिल्ला हुलाक कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) बसन्त अधिकारीले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सिडियो अधिकारीले हुलाकमार्फत प्रदान गरिने विभिन्न सरकारी सेवाहरू जस्तै पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र तथा अन्य महत्वपूर्ण कागजातहरूको वितरण प्रक्रियाबारे जानकारी लिएका थिए । उनले ती सेवाहरूलाई थप व्यवस्थित र छिटोछरितो बनाउन आवश्यक निर्देशन समेत दिए ।

सिडियो अधिकारीले आगामी दिनमा हुलाक सेवामार्फत नै नागरिकलाई स्थानीय तहसम्म सरकारी कागजातहरू सहज रूपमा उपलब्ध गराउने योजना रहेको बताए ।

विशेषगरी दशैंजस्ता चाडपर्वको समयमा सेवाग्राहीलाई झन्झटमुक्त रूपमा कागजात उपलब्ध गराउने उद्देश्यले हुलाक प्रणालीलाई सुदृढ बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

‘हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्नु हाम्रो प्राथमिकता हो,’ सिडियो अधिकारीले भने ।

उनले हुलाक कार्यालयका कर्मचारीहरूलाई सेवाग्राहीमैत्री व्यवहार अपनाउन, काममा ढिलासुस्ती नगर्न र प्रविधिको अधिकतम प्रयोग गरी सेवा सुधार गर्न निर्देशन दिए ।

जिल्ला हुलाक कार्यालय मकवानपुरले पनि सेवा विस्तार र गुणस्तर सुधारका लागि आवश्यक तयारी अगाडि बढाइएको जनाएको छ । हुलाक सेवामार्फत सरकारी कागजातहरूको वितरण सुरु भएमा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।