Logo

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प



काठमाडौं । इन्डोनेसियाको मलुकु स्ट्रेटमा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भुकम्पका कारण हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

भूकम्पका कारण उत्तरी सुलावेसी प्रान्तको राजधानी मनाडोका धेरै भवनहरूमा क्षति पुगेको छ । चाइना भूकम्प नेटवर्क सेन्टर (सीइएनसी)का अनुसार स्थानीय समय अनुसार बिहान ०६ः४८ बजे उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको समयमा मनाडोस्थित सिलोम नामक निजी अस्पताल बाहिर निकै डरलाग्दो दृश्य देखिएको थियो । केही सेकेन्डसम्मको तीव्र कम्पनका कारण अस्पतालको भवनमा दरारहरू परेका छन् ।

अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरूलाई तत्काल सडकमा निकालिएको थियो । कतिपय बिरामीहरू ह्वीलचेयरमा, कतिपय आईभी, ड्रिपसहितै र कतिपयलाई त अस्पतालको बेडमै राखेर वार्ड बाहिर सुरक्षित स्थानमा पु¥याइएको थियो । भवनबाट खसेको भग्नावशेषले पार्किङमा राखिएको एउटा कारलाई किच्दा त्यसका झ्यालका सिसाहरू फुटेका छन् ।

एक बिरामीका आफन्त बिली लोम्बोकले भने, ‘भूकम्प आउँदा कोही सुतिरहेका थिए, कोही भर्खरै शल्यक्रिया गरेर आराम गरिरहेका थिए । भूकम्पले अस्पतालको सिलिङमा क्षति पु¥याएको छ र भित्ताहरूमा ठूला–ठूला दरारहरू देखिएका छन् ।’

भूकम्पलगत्तै इन्डोनेसियाली अधिकारीहरूले सुनामी आउनसक्ने भन्दै चेतावनी जारी गरेका थिए । तर, समुद्री सतहमा कुनै ठूलो परिवर्तन वा खतरा नदेखिएपछि उक्त चेतावनीपछि फिर्ता लिइएको छ ।

अहिले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १५:२५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।