Logo

समाचार

भाडा नबढाए देशभरका गाडी ठप्प पार्ने यातायात व्यवसायीको चेतावनी



काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन आग्रह गर्दै भाडा नबढाए यातायात सेवा नै ठप्प पार्ने चेतावनी दिएको हो। आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको भाडा नबढाएको भन्दै यातायात व्यवसायीले तत्काल भाडा वृद्धि गर्न माग गरेका हुन्।

महासंघले अब पनि सरकारले भाडा नबढाए देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने चेतावनी दिएको छ। हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार गर्न माग गरिएको छ। यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखेको छ।

२०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाे छ,’ विज्ञप्तिमा उल्लेख छ।

‘पटक–पटकको अनुरोधलाई सरकारले कमजोरी ठानेको भन्दै महासंघले अब घाटा खाएर सेवा दिन सक्दैन। सरकारले तत्काल निर्णय नलिए वैज्ञानिक विधिलाई नै आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएका छन्। भाडा समायोजन नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य नै हुने भन्दै छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १९:११   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।