Logo

अर्थ

यातायात कार्यालय नवलपरासीद्वारा नौ महिनामा २३ करोड बढी राजस्व संकलन



नवलपरासी। यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए।

उनले भने, ‘यो अवधिमा सवारीसाधन कर संकलनबापत १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत तीन करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख २९ हजार ९९० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत सात लाख ७१ हजार ५२८ रुपैयाँ राजस्व संकलन भएको छ।’

यातायात व्यवस्था कार्यालयले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख नेपालीले बताए।

यो अभियानअन्तर्गत ‘बिलबुक’ नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिए।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।