काठमाडौं। विश्वव्यापी ऊर्जा संकटले अर्थतन्त्रमा दबाब बढाइरहेका बेला बङ्गलादेश ले तत्काल ऊर्जा आवश्यकता पूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ।
प्रधानमन्त्री तारिक रहमान ले विकास साझेदारसँग करिब दुई अर्ब डलर बराबरको आपतकालीन कोष माग गर्दै देशको आर्थिक स्थिरता जोगाउन सहयोग आवश्यक रहेको बताएका हुन्।
एसिया शून्य उत्सर्जन समुदाय (एजेडइसी) प्लसको अनलाइन शिखर सम्मेलनमा उनले ऊर्जा संकटले विशेषगरी विकासोन्मुख मुलुकलाई बढी प्रभावित बनाएको उल्लेख गरे। “वर्तमान अवस्था तत्काल, एकताबद्ध र निर्णायक कदमको माग गर्छ,” उनले भने।
उनका अनुसार ऊर्जा अभावले बङ्गलादेशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारिसकेको छ। त्यसको सामना गर्न सरकारले माग व्यवस्थापन, इन्धन आपूर्ति सुनिश्चितता र खपत नियन्त्रणजस्ता अल्पकालीन उपाय अपनाएको छ।
सरकारले सरकारी कार्यालय र बजार सञ्चालन समय सीमित गर्ने, इन्धन आयात बढाउने, स्रोत विविधीकरण गर्ने तथा इन्धन रासनिङ र खुद्रा बिक्रीमा सीमा निर्धारण गर्ने कदम अघि सारेको जनाएको छ।
इन्धन सञ्चय नियन्त्रणका लागि ‘फ्युल एप’ जस्ता डिजिटल पहल पनि सुरु गरिएको छ। यद्यपि दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री रहमानको भनाइ छ।
उनले वर्तमान संकट सन् १९७० को तेल संकटभन्दा पनि गम्भीर हुन सक्ने चेतावनी दिँदै समयमै समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेका छन्।




















प्रतिक्रिया