वीरगन्ज ।वीरगन्ज नाकाबाट सँगै जोडिएको भारतीय बजार रक्सौल बाट क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल भित्रिने क्रम बढ्दो छ ।
खुला सीमाको फाइदा उठाउँदै पर्सा र बारासँग जोडिएका विभिन्न नाकाबाट दैनिक रूपमा साइकलमार्फत यस्ता कृषिजन्य वस्तु भित्र्याइने गरिएको पाइएको छ ।
विशेषगरी बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरपालिका अन्तर्गत नगवा र इनर्वा क्षेत्रका खुला नाकाबाट ‘क्यारिङ’ गर्ने साइकल चालकले बिहान सबेरै भारतीय बजारबाट तरकारी र फलफूल ल्याउने गरेका छन् ।
यस्ता वस्तु कुनै पनि प्रकारको क्वारेन्टिन परीक्षणबिनै स्थानीय बजारमा पुग्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्यले क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भन्दै यसतर्फ कडाइ गर्नुपर्ने बताए ।
“खुला सीमाको दुरुपयोग गर्दै विभिन्न नाकाबाट दैनिक ठूलो मात्रामा तरकारी भित्र्याइँदै आएको छ,” उनले भने, “स्थानीय प्रशासन र सुरक्षाकर्मीले प्रभावकारी निगरानी गर्न आवश्यक छ ।”
स्थानीयका अनुसार, साइकल चालकहरूले बिहानैदेखि प्रतिसाइकल ठूलो परिमाणमा तरकारी ल्याउने गरेका छन् । तर, सीमाक्षेत्रमा खटिएको सुरक्षा निकायबाट प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन परीक्षण पास गरेका तरकारी तथा फलफूल मात्र आयात गर्न पाइने स्पष्ट पारे ।
“जाँचबिनै वस्तु भित्र्याउन पाइँदैन,” उनले भने, “कतैबाट यस्तो भएको पाइएमा अनुगमन गरी नियन्त्रण गरिनेछ ।”
सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षकका अनुसार, पर्साभन्दा पनि बाराको विश्रामपुर क्षेत्रसँग जोडिएका नाकाबाट बढी मात्रामा क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिने गरेको छ ।
त्यसरी भित्रिएका वस्तु सीधै वीरगन्ज बजारमा पुग्ने गरेको उनले बताए ।




















प्रतिक्रिया