Logo

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने



सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

सो छलफलपश्चात् पर्यटनमन्त्री भट्टराईका अनुसार पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी थप उडान अनुमति प्रदान गरिने निर्णय भएको छ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ ।

नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान थपिने भएको छ । यसरी अन्तर्राष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८०० को सङ्ख्यामा विदेशबाट आइरहेकामा यो सङ्ख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ ।

आन्तरिक उडान पनि खोलिने

बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिनुभयो । जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उहाँले जानकारी दिनुभयो ।

असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उहाँले सङ्केत गर्नुुभयो ।

मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड सङ्क्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै उहाँले अहिले विदेशबाट फर्किन चाहेका नेपाली र कूटनीतिक नियोगका लागि मात्र उडान अनुमति दिएकामा अब विदेशी कामदारलाई पनि खुला गर्ने विषयमा कुरा भइरहेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ८ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।