Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाहलाई हर्कको प्रहार: ‘मुकुम्लुङ’ मास्ने व्यापारीलाई संरक्षण, सुकुम्बासीमाथि डोजर



काठमाडौं । श्रम संस्कृति पार्टी नेपालका अध्यक्ष हर्कराज राईले सामाजिक सञ्जालमार्फत् सरकारको नीतिमाथि कडा आलोचना गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई उल्लेख गर्दै राज्यले कमजोर समुदायमाथि कडाइ र शक्तिशाली व्यवसायीप्रति नरम नीति अपनाएको आरोप लगाएका हुन्।

राईले सुकुम्बासी बस्ती हटाउने अभियानप्रति प्रश्न उठाउँदै मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र पर्ने संवेदनशील भूभागमा गुराँसघारी मासेर केवलकार निर्माणको प्रयास भइरहेको छ, तर, त्यसमा सरकार मौन देखिएको छ।

उनले चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमइ समूहको लगानी जोडिएका परियोजनालाई लक्षित गर्दै राज्य–व्यवसायिक सम्बन्धमाथि गम्भीर प्रश्न उठाएका छन्। “सुकुम्बासीको झुपडी भत्काउन सजिलो छ तर ठूला लगानीकर्ताका अवैध परियोजनामा सरकार किन चुप?” भन्ने आशयको टिप्पणी उनले गरेका छन्।

मुकुम्लुङ क्षेत्र जैविक विविधता, सांस्कृतिक आस्था र स्थानीय समुदायको जीवनसँग जोडिएको संवेदनशील भूभाग मानिन्छ। यस्तो क्षेत्रमा पूर्वाधार विस्तार गर्दा वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय सहमति अनिवार्य हुनुपर्ने आवाज उठ्दै आएको छ।

राईको अभिव्यक्तिले सरकारको प्राथमिकता, विकास र संरक्षणबीचको सन्तुलन तथा राजनीतिक–व्यवसायिक निकटतामाथि नयाँ बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ११:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।