Logo

समाचार

एचआईडिसीएलको ‘ए माइनस’ रेटिङ कायमै, ब्याजदर घट्दा सरकारी कम्पनीको व्यापारिक आम्दानी खुम्चियो



काठमाडौं  । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) को ‘ए–प्लस’ रेटिङलाई केयर रेटिङ्स नेपाल ले पुनः पुष्टि गरेको छ।

कम्पनीको बलियो संस्थागत संरचना, सरकारी स्वामित्व र स्थिर वित्तीय अवस्थालाई आधार मानेर रेटिङ यथावत् राखिएको हो।

केयर रेटिङ्सका अनुसार ‘ए–प्लस’ रेटिङ प्राप्त संस्थाले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता राख्छन्। यस्तो रेटिङले कम्पनीमा लगानी गर्दा क्रेडिट जोखिम न्यून रहेको संकेत गर्छ। सरकारी अधिकारीहरूको संलग्नता रहेको सञ्चालक समिति तथा व्यवस्थापन संरचनाले पनि कम्पनीको साख मजबुत बनाएको रिपोर्टमा उल्लेख छ।

एचआइडिसिएलमा नेपाल सरकारको ५०.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ। यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानजस्ता सरकारी निकायहरूको संयुक्त १५.२४ प्रतिशत हिस्सा छ। बाँकी करिब ३४ प्रतिशत सेयर सर्वसाधारण तथा अन्य संस्थापक समूहसँग रहेको कम्पनीले जनाएको छ।

कम्पनीले मुख्य रूपमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनामा ऋण र स्वपुँजी लगानी गर्दै आएको छ। तर पछिल्लो समय बैंकिङ प्रणालीमा ब्याजदर घटेसँगै कम्पनीको आम्दानीमा दबाब परेको देखिएको छ।

बैंकमा राखिएको मुद्दती निक्षेप तथा आयोजनामा प्रवाह गरिएको ऋणको ब्याजदर घटेकाले सञ्चालन आम्दानीमा असर परेको रेटिङ रिपोर्टमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल सञ्चालन आम्दानी २ अर्ब १४ करोड ७० लाख रुपैयाँ रहेको थियो। तर २०८१/८२ मा यस्तो आम्दानी ३३.०९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी ५६ करोड रुपैयाँ पुगेको रिपोर्टले देखाएको छ।

आम्दानीमा गिरावट आए पनि कम्पनीका वित्तीय सूचकहरू भने अझै बलिया रहेको रेटिङ एजेन्सीले जनाएको छ। एचआइडिसिएल हालसम्म पूर्ण रूपमा ऋणमुक्त रहेको छ।

कम्पनीले कुनै पनि बाह्य ऋण नलिएको हुँदा यसको वित्तीय भार शून्य रहेको उल्लेख गरिएको छ। कम्पनीको नाफा मार्जिन करिब ९६ प्रतिशत रहनुले सञ्चालन दक्षता उच्च रहेको देखिएको छ।

हाल कम्पनीको चुक्तापुँजी २४ अर्ब ९२ करोड ८० लाख रुपैयाँ रहेको छ। यसले ठूला जलविद्युत् तथा ऊर्जा आयोजनामा लगानी विस्तार गर्ने आधार तयार गरेको रिपोर्टमा उल्लेख छ।

एचआइडिसिएलले हालसम्म २९ वटा आयोजनामा ऋण लगानी तथा १३ वटा कम्पनीमा स्वपुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यी आयोजना समयमै सम्पन्न भए कम्पनीको आम्दानी स्रोत थप विविध हुने अपेक्षा गरिएको छ।

यद्यपि, कम्पनीको लगानी जलविद्युत् क्षेत्रमा बढी केन्द्रित हुनु जोखिमको पक्षका रूपमा औंल्याइएको छ। आयोजना निर्माणमा ढिलाइ, लागत वृद्धि, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति तथा भूगर्भीय समस्याले आयोजनाको प्रतिफलमा असर पार्न सक्ने रिपोर्टमा उल्लेख छ।

हिउँदयाममा नदीको बहाव घट्दा विद्युत् उत्पादन कम हुने र त्यसले लाभांश आम्दानीमा प्रभाव पार्ने जोखिम पनि देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन विस्तारमा हुने ढिलाइले उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या हुन सक्ने भन्दै त्यसलाई पनि कम्पनीका लागि चुनौतीका रूपमा रेटिङ रिपोर्टले औंल्याएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार २०:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।