Logo

समाचार

प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन रास्वपा र सभामुखको भूमिका निर्णायक: विद्वान गुरुङ



काठमाडाैं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं निवर्तमान तरुण दल अध्यक्ष विद्वान गुरुङले वर्तमान शक्ति सन्तुलनमा प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखको भूमिका ऐतिहासिक हुने बताएकाे छ ।

मंगलबार एक प्रेस टिप्पणी जारी गर्दै नेता गुरुङले संसदीय व्यवस्थाको मुटु नै व्यवस्थापिकाप्रतिको जवाफदेहिता भएको उल्लेख गरे । “जनताको अनुमोदनबाट बनेको संसद लोकतन्त्रको प्राण हो,” गुरुङले भन्नुभयो, “कार्यपालिका जबसम्म संसदको नियन्त्रण र निगरानीमा रहँदैन, तबसम्म नागरिकका आवाजले सही अर्थमा सम्बोधन पाउँदैनन्।”

गुरुङले प्रधानमन्त्री पद सत्ता चलाउने अधिकार मात्र नभई सदनको विश्वासको नासो भएको समेत स्मरण गराए । उनले थपे, “प्रधानमन्त्रीलाई संसदप्रति गौरवशाली र अझ बढी जिम्मेवार बनाउन अहिलेको अङ्कगणितमा रास्वपाका माननीय सदस्यहरू र सदनको अभिभावकका रूपमा सभामुखको भूमिका सबैभन्दा निर्णायक देखिन्छ।”

पछिल्लो समय सरकार संसदप्रति उत्तरदायी नभएको गुनासो बढिरहेका बेला कांग्रेस नेता गुरुङले प्रधानमन्त्रीलाई सदनको कठघरामा उभिएर जवाफ दिने वातावरण बनाउनुपर्नेमा जोड दिएकाे हो। “संसदलाई उपेक्षा गर्ने छुट कसैलाई छैन,” उनले अगाडि भने, “अबको लक्ष्य भनेकै ‘जनताको संसद र जनताकै लागि उत्तरदायी सरकार’ हुनुपर्छ।”

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउनका लागि सरकारका कामकारबाहीमाथि संसदले कडा निगरानी राख्नुपर्ने र यसका लागि सबै दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १७:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।