Logo

निजी क्षेत्र त्रसित हुनुपर्ने छैन, सरकार ढोका ढोकामा पुगेर लगानी गर्न आह्वान गर्दै छ- अर्थमन्त्री



काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई साथमा लिएर आर्थिक वृद्धि गर्ने बताएका छन्।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले निजी क्षेत्रलाई लगानी, उद्यम र उत्पादन विस्तारका लागि सरकारले घर घर, ढोका ढोकामा पुगेर आह्वान गर्ने गरी तयारी गरिरहेको दाबी गरे।

उनले भने, ‘म भन्न चाहन्छु, इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनुपर्दैन।

सरकार घर घर, ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दै छ।’

उनले प्रभावकारी नियमन र सहजीकरण गरी निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउने बताउँदै थपे, ‘राज्यलाई हामी आफैं गर्ने संरचनाका रुपमा होइन, नागरिक निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रुपमा हेर्छौं।

सरकारको प्रभावकारी नियमन र सहजीकरणमा निजी क्षेत्रले उडान भर्ने अवधारणा अनुरुप हाम्रो लक्ष्य उपभोगमुखी आयात निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन नवप्रवर्तन र उद्यमशीलताद्वारा सञ्चालित गतीशील अर्थतन्त्रमा रुपान्तरण गर्नु हो।’

उनले भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थाहरुको अवैध कब्जाले राज्यको लागत बढाउनुका साथै नागरिकको विश्वास पनि कमजोर बनाएकाले सरकार सिस्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको बताए।

बैठकमा विपक्षी दलका कतिपय सांसदले एकपछि अर्को व्यवसायीलाई पक्राउ गरिएका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै सरकारसँग जवाफ माग गरेका थिए।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार २०:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।