Logo

प्रमुख समाचार

सरकारले देशैभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक लगायो



काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको छ।

यातायात व्यवस्था विभाग ले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई परिपत्र गर्दै विद्युतीय सार्वजनिक सवारीसाधनसहित नयाँ सार्वजनिक सवारी दर्ता तत्कालका लागि रोक्न निर्देशन दिएको हो।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा समस्या बढेको, सवारी चाप अत्यधिक भएको तथा वायु प्रदूषण र ट्राफिक जाम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

परिपत्रमा इन्धनको बढ्दो मूल्य र सार्वजनिक सवारी व्यवस्थापनमा देखिएको असहज अवस्थालाई सम्बोधन गर्न दर्ता रोक्ने निर्णय गरिएको उल्लेख छ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा ३ अनुसार निर्णय गरिएको जनाएको छ।

उक्त कानुनी व्यवस्थाअनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितका अन्य कारणले आवश्यक ठानेमा विभागले सवारी दर्ता रोक्न सक्ने व्यवस्था छ।

सरकारले अर्को सूचना जारी नभएसम्म यो निर्णय लागू रहने स्पष्ट पारेको छ।

यससँगै अब देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्ता नहुने भएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।