Logo

अर्थ

देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का



काठमाडौं । यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा राेक लगाएकाे छ ।

विभागले सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरू र देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायु प्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा परेको असहजतालाई सम्बोधन गर्न र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो कदम चालिएको विभागको परिपत्रमा उल्लेख छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा रहेको प्रावधानलाई टेकेर विभागले यो निर्णय गरेको हो । उक्त ऐनले वातावरण प्रदूषण, सवारी चाप र सडकको स्थितिलाई हेरेर सार्वजनिक हितका लागि कुनै पनि सवारीको दर्ता रोक्का गर्ने अधिकार विभागलाई दिएको छ ।

विभागका अनुसार यो निर्णय विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनहरूको हकमा पनि लागू हुनेछ ।

यस निर्णयसँगै अब नयाँ सार्वजनिक बस, माइक्रोबस वा अन्य सार्वजनिक साधनहरू दर्ता गर्ने प्रक्रिया केही समयका लागि रोकिने भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।