Logo

बीमा

फुटबल र शिक्षा प्रवर्द्धनार्थ कास्कीका सामुदायिक विद्यालयमा मेटलाइफको सहयोग



काठमाडौं। खेलकुदमार्फत बालबालिकाको समग्र विकास र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा फुटबल सामग्री वितरण अभियान सुरु गरेको छ।

‘शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने’ लक्ष्यका साथ सुरु गरिएको यस पहलअन्तर्गत कास्कीका पाँच सामुदायिक विद्यालयमा फुटबल तथा प्रशिक्षण सामग्री उपलब्ध गराइँदै छ। कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ।

अभियानमार्फत करिब १६० वटा फुटबलका साथै कोन, गोलपोस्ट नेट, एयर पम्पलगायत प्रशिक्षणका लागि आवश्यक सामग्री वितरण गरिनेछ। छनोट भएका विद्यार्थीलाई जर्सीसमेत प्रदान गरिने जनाइएको छ।

यसले विद्यालयस्तरमा नियमित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक विद्यालयमा खेल संस्कृतिको विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यो कार्यक्रम मेटलाइफ नेपालको शिक्षाकेन्द्रित संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममार्फत विद्यार्थीमा कक्षाकोठाको शिक्षासँगै टोली भावना, निष्पक्षता, धैर्यता, नेतृत्व क्षमता तथा आपसी सम्मानजस्ता जीवनोपयोगी मूल्यहरूको विकास गर्ने लक्ष्य राखिएको छ।

मेटलाइफ नेपालका अनुसार खेलकुद र शिक्षालाई सँगसँगै अघि बढाएर बालबालिकाको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा र सामूहिक बिमा सेवा प्रदान गर्दै आएको छ। त्यसैगरी, कर्मयोग फाउन्डेसनले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण तथा सिप विकासका क्षेत्रमा काम गर्दै ग्रामीण समुदायको उत्थानमा योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १९:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।