काठमाडौँ ।भक्तपुरमा अझै पनि ३० भन्दा बढी सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको बताइएको छ ।
सहकारी अध्यादेशसम्बन्धी आइतबार भक्तपुरमा भएको छलफल कार्यक्रममा जनाइएअनुसार जिल्लाका चारमध्ये सबैभन्दा बढी सूर्यविनायक नगरपालिकाका १६ भन्दा बढी सहकारीले बचत रकम फिर्ता गर्न सकेका छैनन् ।
सूर्यविनायकपछि मध्यपुर थिमि नगरपालिकाका नौभन्दा बढी सहकारीले बचत रकम फिर्ता गर्न सकेका छैनन् । यस्तै भक्तपुर नगरपालिकाका चार र चाँगुनाराण नगरपालिकाको एउटा सहकारीले बचत रकम फिर्ता गर्न नसकेको बताइयो ।
शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको २६औं स्थापना दिवसका अवसरमा आयोजित सहकारी अध्यादेशसम्बन्धी अभिमुखीकरण तथा असल ऋणी सम्मान कार्यक्रममा यी सहकारी तथा बचत संस्थाले बचत रकम फिर्ता गर्न नसक्नु संख्याको हिसाबले कम भएको बताइयो ।
कार्यक्रममा उनीहरूले देशभर ३२ हजार सहकारीमध्ये पाँच सय कम सहकारी संस्थाले मात्रै बचत रकम फिर्ता गर्न नसकेको तथ्यांक रहेको जनाइयो । त्यसकारण यी सहकारीको समस्यालाई लिएर सरकारले विधेयक ल्याएको पनि कार्यक्रममा बताइयो ।
यता बचतकर्ताले आफूहरूले वर्षौं लगाएर जम्मा गरेको रकम फिर्ता नपाउँदा दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको बताए ।
सहकारी पीडितका अनुसार जिल्लाभित्र सञ्चालित केही ठूला तथा मध्यम सहकारी संस्थाले बचत फिर्ता दिन नसकेको अवस्था छ । कतिपय संस्थाले किस्ताबन्दीमा रकम फिर्ता गर्ने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बचतकर्ताको भनाइ छ ।
सहकारी अभियन्ताका अनुसार वास्तविक तथ्यांक अद्यावधिक भइरहेकाले रकम फिर्ता गर्न नसकेका संस्थाको संख्या यकिन गर्न नियामक निकायको विस्तृत अध्ययन आवश्यक छ, तर जिल्लामा समस्या झेलिरहेका सहकारीको संख्या उल्लेख्य रहेको उनीहरूको भनाइ छ ।




















प्रतिक्रिया