काठमाडौं — इरानले आइतबार राति इजरायलतर्फ मिसाइल प्रहार गरेपछि मध्यपूर्वमा तनाव पुनः चुलिएको छ।
इरानी आक्रमणको जवाफमा इजरायलले इरानका विभिन्न सहरलाई लक्षित गरी सैन्य कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टहरूका अनुसार इजरायली आक्रमण राजधानी तेहरानसहित तबरिज र इस्फहान क्षेत्रमा केन्द्रित थियो।
इरानले भने लेबनानमा जारी इजरायली सैन्य कारबाहीको प्रतिकारस्वरूप इजरायलमाथि मिसाइल प्रहार गरिएको जनाएको छ।
इरानले लामो समयदेखि क्षेत्रीय तनाव कम गर्न लेबनानमा युद्धविराम आवश्यक रहेको बताउँदै आएको छ।
पछिल्लो घटनाक्रमसँगै इजरायल र इरानबीच प्रत्यक्ष सैन्य टकरावको जोखिम बढेको विश्लेषण गरिएको छ।
इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो पश्चिमी क्षेत्रको हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको छ।
इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनले सुरक्षा अवस्थाको मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म उक्त निर्णय लागू रहने जनाएको छ।
यसैबीच, क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पछिल्लो मिसाइल प्रहारलाई ‘चेतावनीमूलक कारबाही’ को संज्ञा दिएको छ।
संगठनले लेबनानको राजधानी बेरुतमाथि भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप उक्त कदम चालिएको जनाएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
उनले इजरायलले थप सैन्य कारबाही नगर्ने अपेक्षा व्यक्त गर्दै तनावलाई थप विस्तार हुन नदिन कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।
अनलाइन सञ्चारमाध्यम एक्सियोससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग संवाद गरी थप जवाफी आक्रमण नगर्न आग्रह गर्ने बताएका छन्।
उनका अनुसार नयाँ प्रतिशोधात्मक कारबाहीले क्षेत्रीय अस्थिरता झन् बढाउन सक्छ।
पछिल्लो घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ।
क्षेत्रीय द्वन्द्व विस्तार भए त्यसको प्रभाव त्यहाँ कार्यरत विदेशी नागरिक तथा श्रमिक समुदायमा समेत पर्न सक्ने विश्लेषण गरिएको छ।




















प्रतिक्रिया