दाङ । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।
भारतको गोरखपुरस्थित ¥याडिसन ब्लु होटलमा आयोजित कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, भैरहवा विशेष आर्थिक क्षेत्रको विकास, व्यापार सहजीकरण तथा रेल कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि तथा पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धका कारण दुवै देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको उनले बताए । अध्यक्ष पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए ।
लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किटको प्रवद्र्धन गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने धारणा उनले राखे ।
भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण तथा व्यवसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो ।
सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन तथा निर्यात प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।
पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा भारतस्थित नेपाली दूतावासको सहकार्यमा आयोजित मञ्चअन्तर्गत भएको राउण्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारत आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ प्रभावकारी बनाउन निजी क्षेत्रको भूमिका सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा भारत–नेपाल केन्द्र, पीएचडीसीसीआईका अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य गरेका थिए भने केन्द्रका सहअध्यक्ष कमलेश जैनले स्वागत मन्तव्य राखेका थिए ।
भारतस्थित नेपाली दूतावासका उपप्रमुख तारानाथ अधिकारी, आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरण तथा सहकार्य विस्तारका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।




















प्रतिक्रिया