काठमाडौं । यशोधा फुड्स प्रालिले गुणस्तरसम्बन्धी प्रश्न उठेको एउटा निश्चित ब्याचबाहेक अन्य सबै ‘करेन्ट हट एण्ड स्पाईसी’ चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ।
कम्पनीले सोमबार जारी गरेको सूचनामार्फत उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए भएको ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम चाउचाउबाहेक अन्य ब्याचका उत्पादन गुणस्तरीय र खान योग्य रहेको स्पष्ट पारेको हो।
खाद्य तथा गुण नियन्त्रण कार्यालयले उक्त निश्चित ब्याचको उत्पादनबारे सूचना जारी गरेपछि कम्पनीले आफ्नो धारणा सार्वजनिक गर्दै उपभोक्तामा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ।
कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए रहेको १०० ग्रामको ‘करेन्ट हट एण्ड स्पाईसी’ चाउचाउमा मात्र सम्बन्धित निकायको चासो केन्द्रित भएको हो।
कम्पनीले सोही उत्पादन मिति र ब्याच नम्बर बाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने जनाएको छ।
“खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख भएको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए को चाउचाउबाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ,” कम्पनीले सूचनामा उल्लेख गरेको छ।
यशोधा फुड्सले उपभोक्ता, बिक्रेता तथा आधिकारिक वितरकलाई पनि ढुक्क भएर अन्य ब्याचका उत्पादनको बिक्री–वितरण तथा उपभोग गर्न आग्रह गरेको छ।
कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र खाद्य सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
हाल विवादमा आएको निश्चित ब्याचका उत्पादनबारे भने नियामक निकायले थप परीक्षण तथा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले उपभोक्तालाई उत्पादन खरिद वा उपभोग गर्दा उत्पादन मिति र ब्याच नम्बर यकिन गर्न समेत अनुरोध गरेको छ।




















प्रतिक्रिया