काठमाडौं । पोखरा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले अध्ययन बिदा दुरुपयोग गर्दा विश्वविद्यालयलाई भएको आर्थिक क्षति असुल गर्न महालेखापरीक्षकले निर्देशन दिएको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अध्ययन बिदामा गएका केही शिक्षक–कर्मचारीले कबुलियतनामाअनुसार सेवा नगरेका, केहीले तोकिएको अवधि पूरा नगरेका तथा केही विश्वविद्यालयको स्वीकृतिबिनै अर्को शैक्षिक उपाधि हासिल गर्न गएको पाइएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार विसं २०७४ यता अध्ययनका लागि स्वदेश तथा विदेश गएका ५१ जना शिक्षक–कर्मचारीमध्ये ३ जनाले कबुलियतनामाअनुसार सेवा नगरेको पाइएको छ। अन्य केहीले आंशिक रूपमा मात्र सेवा गरेको तथा कतिपयले नियमविपरीत थप अध्ययनमा संलग्न भएको देखिएको छ।
अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयले १ करोड १२ लाख २६ हजार रुपैयाँ बराबरको आर्थिक भार व्यहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ। उक्त रकममा वार्षिक १० प्रतिशत ब्याजसमेत जोडेर सम्बन्धित व्यक्तिबाट असुल गर्न महालेखाले सुझाव दिएको छ।
पोखरा विश्वविद्यालय शिक्षक–कर्मचारी नियमावली, २०५५ को नियम २७ अनुसार अध्ययन बिदापछि विश्वविद्यालयको सेवामा नफर्किने, फर्किए पनि तोकिएको अवधि पूरा नगरी सेवा छाड्ने वा अनुपस्थित रहने शिक्षक–कर्मचारीबाट अध्ययन अवधिमा प्राप्त तलब, भत्ता तथा अन्य सुविधासहित सो रकममा वार्षिक १० प्रतिशत ब्याजको दोब्बर रकम असुल गर्नुपर्ने व्यवस्था छ।




















प्रतिक्रिया