Logo

अर्थ

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व संकलन



मुस्ताङ । नेपाल–चीन सीमा क्षेत्रको कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि भन्सार राजस्व संकलन उल्लेख्य बढेको छ।

उपल्लो मुस्ताङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले गत भदौदेखि जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार सो अवधिमा चीनबाट नेपाल भित्रिएका विभिन्न मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको भन्सार महसुल संकलन भएको छ।

विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा, कस्मेटिक तथा विद्युतीय सामग्री आयातबाट मुख्य रूपमा राजस्व प्राप्त भएको उनले बताए।

नेपालबाट चीनतर्फ निर्यात गरिएका हस्तकला तथा अन्य नेपाली उत्पादनबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत भदौदेखि जेठ १६ गतेसम्म कोरला नाका हुँदै दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

ती सवारीसाधनको भन्सार जाँचपासबाट मात्रै ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यसैबीच, कोरला नाका हुँदै भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको आयात प्रक्रियाबारे सरकारले छानबिन गरिरहेको छ।

आयात प्रक्रियामा कुनै अनियमितता भए–नभएको अध्ययन गर्न गठित तीन सदस्यीय समितिले कास्की, पर्वत, मुस्ताङ र कोरला नाका क्षेत्रमा अनुगमन गरिसकेको जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार ०८:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।