काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकमा करिब तीन दशक सेवा गरेका भट्टलाई पूँजी बजार तथा वित्तीय क्षेत्रको लामो अनुभवका आधारमा बोर्डको नेतृत्वको जिम्मेवारी दिइएको हो।
कैलालीमा २०२५ जेठ ९ गते जन्मिएका डा. भट्ट अर्थशास्त्री तथा वित्तीय नीति विश्लेषकका रूपमा परिचित छन्। मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, सार्वजनिक ऋण व्यवस्थापन, पूँजी बजार विकास तथा समष्टिगत आर्थिक अनुसन्धानका क्षेत्रमा उनले लामो समय काम गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन (वित्त) विषयमा विद्यावारिधि गरेका भट्टले सन् २००९ मा ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा अनुसन्धान पूरा गरेका थिए। उनले एमबीए, बीबीए तथा व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि त्रिभुवन विश्वविद्यालयबाटै गरेका हुन्।
नेपाल राष्ट्र बैंकमा विशेष श्रेणीका कार्यकारी निर्देशकसम्म पुगेका भट्टले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, मानव स्रोत व्यवस्थापन विभाग तथा विभिन्न क्षेत्रीय कार्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्व गर्दा उनले मौद्रिक नीति निर्माण, आर्थिक अनुसन्धान तथा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) विकासमा महत्वपूर्ण योगदान दिएका थिए। सार्वजनिक ऋण व्यवस्थापन, तरलता व्यवस्थापन तथा बैंकिङ क्षेत्रको नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने कार्यमा पनि उनको सक्रिय भूमिका रहेको छ ।
डा. भट्टले अर्थ मन्त्रालयअन्तर्गत एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित पूँजी बजार तथा पूर्वाधार विकास परियोजनासहित वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय कार्यक्रमहरूमा योगदान दिएका छन्। उनी राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कार्यदल सदस्य, सीपीआई विकास परियोजनाका प्रमुख तथा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका परामर्शदाताका रूपमा समेत कार्यरत रहिसकेका छन्।
निजी क्षेत्रको अनुभवसमेत बटुलेका भट्टले सन् २०२० देखि २०२२ सम्म सनिमा क्यापिटल लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा काम गरेका थिए। त्यसपछि सन् २०२२ देखि २०२६ सम्म नेपाल एसबीआई बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हालेका थिए।
अनुसन्धान तथा प्रकाशनमा सक्रिय भट्टका ‘स्टक रिटर्न्स एन्ड जीडीपी इन नेपाल’ तथा ‘अप्टिमम ग्रोथ–म्याक्सिमाइजिङ पब्लिक डेट थ्रेसहोल्ड फर नेपाल’ लगायतका अनुसन्धानमूलक लेख प्रकाशित छन्।
शिक्षण क्षेत्रमा पनि दुई दशकभन्दा बढी अनुभव हासिल गरेका उनले शंकरदेव क्याम्पससहित विभिन्न शैक्षिक संस्थामा वित्तीय डेरिभेटिभ्स, लगानी विश्लेषण, मौद्रिक नीति, कर्पोरेट फाइनान्स तथा जोखिम व्यवस्थापन विषय अध्यापन गरेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक तथा फेडरल रिजर्भ बैंक अफ न्युयोर्कलगायत संस्थाबाट आयोजित विभिन्न उच्चस्तरीय तालिम तथा कार्यक्रममा सहभागी भट्टले अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, सिंगापुर, दक्षिण कोरिया, मलेसिया र थाइल्यान्डलगायत देशमा वित्तीय तथा आर्थिक विषयमा अनुभव हासिल गरेका छन्।
आर्थिक नीति निर्माण, वित्तीय प्रणाली सुधार र सुशासनका क्षेत्रमा गहिरो अनुभव बटुलेका डा. भट्टको नियुक्तिसँगै धितोपत्र बजारको नियमन, पारदर्शिता र लगानीकर्ता विश्वास अभिवृद्धिमा नयाँ अपेक्षा गरिएको छ।




















प्रतिक्रिया