काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानीका पर्याप्त अवसर भए पनि विभिन्न चुनौतीहरू कायम रहेको सरोकारवालाले बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपालको ऊर्जा क्षेत्र सुधार’ विषयक प्यानल छलफलमा सहभागीहरूले विद्युत् उत्पादनसँगै खपत विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
छलफलमा वक्ताहरूले विद्युत् क्षेत्रमा देखिएका लगानीसम्बन्धी चुनौतीहरूको समाधान गर्दै अघि बढ्न आवश्यक रहेको औँल्याए। उनीहरूले उत्पादन क्षमता बढ्दै गए पनि विद्युत् खपत वृद्धि अपेक्षाअनुसार हुन नसकेको बताए।
नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक इन्जिनियर रोहिणी पौडेलले ऊर्जा क्षेत्रमा सुधारका विभिन्न काम भइरहेको बताए। विद्युत् विस्तारको सम्भावना भए पनि त्यसअनुसार प्रगति हुन नसकेको उनको भनाइ थियो।
ऊर्जा क्षेत्रलाई सुधार गर्दै लैजान आवश्यक रहेको उल्लेख गर्दै उनले ऊर्जा नै राष्ट्रको समृद्धिको आधार भएको बताए। नेपालमा २०७५ सालदेखि लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै उनले ऊर्जा पूर्वाधार विस्तारमा थप ध्यान दिनुपर्ने बताए।
हाल नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। विद्युत् उत्पादनका लागि करिब १६ हजार मेगावाट क्षमताका परियोजनाले अनुमति प्राप्त गरे पनि अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको पौडेलले बताए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र दुलालले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए।




















प्रतिक्रिया