प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेकोले बताउँदै लगानी कर्ताको पक्षमा कानून निर्माण गर्न अर्थमन्त्री युवराज खतिवडालाई सुझाएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले देशमा महँगीले सीमा नाघेको र भ्रष्टाचार बढेको बताए।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा नेता महतले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । अत्यन्तै राम्रो हो । तर, देशको अवस्था नसुधारेसम्म लगानी आकषिर्त हुँदैन ।’ देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन्?भ्रष्टाचार समाप्त भएको छ कि छैन? भन्ने हेनुपर्ने उनले बताए ।
यो सबै निराशजनक रहेको भन्दै उनले विश्व बैंकको ‘डुइङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको उल्लेख भएको स्मरण गरे । टा्रन्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टले नेपालमा भ्रष्टाचार बढेको देखाएको उनले बताए ।
नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको भन्दै महतले भने,’लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरु पनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’ लगानी सम्मेलन गर्ने सरकारको तयारीमा प्रश्न उठाए ।
प्रतिक्रिया