Logo

प्रमुख समाचार

‘कमरेड मनमोहनको दुई तिहाई देख्न नपाइएता पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो : गगन थापा



पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसदले सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर देखाउने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठक आरम्भ भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले थापालाई बोल्न समय दिएका थिए । थापाले सरकारलाई बधाइ दिँदै आफ्नो सम्बोधन आरम्भ गरेका थिए ।

‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसँग, यस्तो बलियो सरकारसँग,’ उनले भने, ‘सरकारले देखाइदियो, सरकारलाई बधाई छ ।’ उनले अगाडी भने, ‘सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु खुशी नहुने कुरै भएन ।’ तर खुशी हुनेहरुको लाममा अरु पनि थुप्रै उभिएको जिकिर उनले गरे ।

आफूहरुले ‘दुई तिहाईको दम्भ’ भनेर बारम्बार भन्दै आए पनि त्यो देख्न नपाएको चर्चा गर्दै उनले भने, ‘यो सम्मानित संसदमा कुनै बेला अनाथ, अपांग बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाको निम्ति कानुन बनाउने एउटा अवसर प्राप्त भयो, दुई तिहाई देख्न पाइएन, भूमिहीन दलितका निम्ति एक पटकका लागि जीविकोपार्जनका लागि जमिन दिउँ र १० वर्षपछि उसले त्यो जमिन आफैं बेचबिखन गर्नसम्म पाउनेगरी हक हस्तान्तरण गरौं भनि संशोधन दर्ता भयो, त्यो बेला दुई तिहाई देख्न पाइएन ।’

शिक्षा, स्वास्थ्यमा राज्यको भूमिका बढाऔं भन्दा पनि दुई तिहाई देख्न नपाइएको उनले बताए । ‘पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन मन्त्रिपरिषदले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानुन बनाउनमात्र बाँकी छ, कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन,’ उनले भने, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाइएता पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो, यो सरकारलाई बधाइ छ, सरकार बनाउने पार्टीलाई पनि बधाई छ ।’

दुई तिहाईले आमरण अनशन बसेका डा. गोविन्द केसीलाई उठाइदिएको चर्चा गर्दै उनले प्रश्न गरे, ‘सुतेको डाक्टर उठे तर प्रश्न यहाँ डाक्टरको मात्र होइन, यहाँ त प्रधानमन्त्रीको विश्वास सुत्यो, प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो अब, ढल्यो, त्यो ढलेको विश्वासलाई कसले उठाइदिने ?’

उनले सरकारसँग अब हिजोको सम्बन्ध प्रमुख प्रतिपक्षी दलको नरहने प्रष्ट पारे । ‘हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ, एउटा दुईटा घटनाबाट, एउटा दुईटा दिनबाट हामी बिर्सन सक्दैनौं,’ उनले भने, ‘हामी सम्झिरहने छौं, हामी मनमा पनि लिइरहने छौं र त्यो अनुरुपको व्यवहार पनि गरिरहने छौं ।’

उनले सरकारलाई ठीक ठाउँमा ल्याउने दावीसमेत गरे । ‘प्रतिपक्ष देखिएन भनेको होइन सरकारले ?’ उनले भने, ‘प्रतिपक्ष सुनिएन भनेको होइन सरकारले ? भोलिदेखि सडकबाट पनि, सदनबाट पनि सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर पनि देखाउँछौं र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो हाम्रो ।’

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ४ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।