काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँ र नवलपुरको सीमामा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
हाइड्रो-टुरिजम अवधारणामा अघि बढाइएको आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ।
कालीगण्डकी नदीमा देवघाटको साँधे बगर क्षेत्रमा निर्माण भइरहेको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।
आयोजनाबाट उत्पादन हुने विद्युत् चितवनस्थित न्यु भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। ड्याम-टु-टो अवधारणामा निर्माण भइरहेको आयोजनाअन्तर्गत १८ मिटर अग्लो बाँध निर्माण गरिनेछ, जसका कारण बाँधको माथिल्लो क्षेत्रमा कालीगण्डकी नदीमा करिब १५ किलोमिटर लामो जलाशय बन्नेछ।
कम्पनीले उक्त जलाशयलाई पर्यटनसँग जोड्दै सुविधा सम्पन्न क्रुज सेवा सञ्चालन गर्ने योजना बनाएको छ। साथै, बाँधको माथिल्लो भागबाट करिब ३० मिटर उचाइबाट झरनाजस्तै बग्ने पानीको दृश्य अवलोकन गर्न सकिने गरी पाँचतारे होटल पनि निर्माणाधीन रहेको अध्यक्ष सुवेदीले जानकारी दिए।
आयोजना सम्पन्न भएपछि यसलाई नेपालकै नमुना हाइड्रो-टुरिजम परियोजनाका रूपमा विकास गर्ने लक्ष्य कम्पनीको छ।




















प्रतिक्रिया