Logo

प्रमुख समाचार

साँच्चिकै सरकारले दुई तिहाइको दम्भ देखायो, म चुप लागेर बस्दिँन : जनार्दन शर्मा



प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ? यो दुई तिहाईको दम्भमा हामी कतातिर जाँदैछौ ?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा संविधान र संघीयताविरोधी काम गरिरहेको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले विनम्रतापूर्वक जनताको काम गर्नुपर्ने वेलामा सरकार दुई तिहाइको बहुमत छ भन्दै हिडेको बताएका हुन् । उनले भने, ‘अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो।’

कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको उनले दावी गरे। नेता शर्माले देश उल्टो दिशामा गइरहेको र यो स्वीकार गर्न नसकिने बताए । सरकारले संविधान पालना नगरेको भन्दै उनले अधिकार सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।

‘प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने ? भनेर प्रश्न गर्दै उनले यो सब राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको दावीसमेत गरे ।

एकीकरणमा आफूले भूमिका खेलेको पार्टीले सरकार चलाइरहेकाले राम्रो कुरा होला भन्ने सोचेर अहिलेसम्म केही नबोली बसेको तर नयाँ नेकपामा कुराहरू राख्न अहिले आफ्नो पनि पहुँच नभएको गुनासो उनको थियो।

संघीय लोकतान्त्रिक गणतन्त्रअनुसारको व्यवहार नभएकोप्रति आपत्ति जनाउँदै शर्माले हिजो संघीयताका लागि ज्यान हत्केलामा राखेर लडेकाले अब पनि संघीयताविरूद्ध जोकोही आए लड्न तयार भएको भन्दै आक्रोस व्यक्त गरे ।

‘समायोजन हुँदा तपाईंहरू किन तल नजाने ? सबैभन्दा प्रभावकारी बनाउनु पर्ने जग त स्थानीय सरकार हो,’ शर्माले भने, ‘ कि हिजो किन लडेको आत्मआलोचना गर्नुस् होइन भने तल गएर तपाईंहरूले सेवा दिनुपर्छ। वृत्ति विकास र सेवासुविधाका लागि हामी लड्छौं तर तल गएर काम गर्नु पर्‍यो नि।’ शर्माको भनाइ थियो ।हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन गर्‍यौं भनेर गर्व गर्नुको अर्थ नभएको उनलको तर्क छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ५ : ०७ बजे