समृद्ध नेपाल बनाउन सबै जातजातिको सकारात्मक सहयोगको अपेक्षा रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।
साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्याउन सकिने प्रधानमन्त्री ओलीले बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।
मंगलबार तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् ।’
नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सदभाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।
‘अब हामीले विकास समृद्धिको महानयात्रा तय गर्नु छ । सरकार समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको छ । यस यात्रामा देशका सबै जातजाती, धर्म सम्प्रदायको योगदान अपेक्षित छ,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘खासगरी हाम्रा साँस्कृतिक पर्वहरु, भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्याउन सकिन्छ ।’
प्रतिक्रिया