काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ ।
असार ४ गते बसेको नगरसभा १९ औँ अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेस गरेको २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ छ ।
बैठकको कार्य सूचीको क्रम संख्या १ देखि ३ सम्म, आ.व. २०८३÷०८४ को ‘कार्यक्रम तथा बजेट उपर छलफल गरी पारित गर्ने’, ‘विनियोजन विधेयक २०८३’ र ‘आर्थिक विधेयक २०८३’ उपर छलफल गर्ने र पारित गर्ने थियो ।
सभामा सभाका अध्यक्ष डंगोलले छलफलका लागि प्रदान गरेको समयमा आशामान संगत, रोजिना श्रेष्ठ, मचाराजा महर्जन, उदयचुडामणि बज्राचार्य, अनिल कुमार श्रेष्ठ, हीरादेवी पोखरेल, सन्तोष ढुङ्गेल, सीता विसुन्के चन्द्रमान तुलाधर, भगवान बुढाथोकी, रचना सुनाम, शर्मिला परियारले प्रस्ताव माथि संशोधन प्रस्तावसहित सहरी व्यवस्थापनमा गर्नु पर्ने कामका विषयमा सुझाव पेस गरे ।
उनीहरूले प्रदान गरेको संशोधन प्रस्ताव र सुझावलाई समेटेर प्रस्ताव पारित गर्न सभाका अध्यक्षले, सभा समक्ष प्रस्ताव राख्न प्रस्तावित गरेका थिए । उनको प्रस्तावलाई सभा सदस्यहरूले सर्वसम्मत पारित गरेको हो ।
विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले सभामा कार्यसूचीको क्रम संख्या ४ मा रहेको ऐन संशोधन सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
उनले, ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद् व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ पेस गरेका हुन् ।
संशोधनका रूपमा सभामा पेस भएका ऐनहरुका विषयमा आज बिहान काठमाडौं प्लाजामा बसेको कार्यपालिकाको ५३ औँ बैठकले छलफल गरेर सभामा लैजाने निर्णय गरेको थियो ।
यसरी पेस गरिएका ऐनहरुका विषय तथा अन्य प्रस्तावमाथि छलफल गर्न असार २३ गते मंगलबार दिनको ३ बजे नगर सभाको पाँचौँ बैठक बोलाइएको छ ।




















प्रतिक्रिया