डोल्पा। डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण औपचारिक रूपमा सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।
सुरुङ निर्माणको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशकै ऊर्जा तथा आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना हुने बताए।
आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे।
ऊर्जा मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सक्रिय सहयोगका कारण आयोजना निर्माण सहज भएको बताउँदै बाँकी काम पनि निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिइन्।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको आधार बन्ने बताए।
ऊर्जा मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको आयोजना मुलुककै नमूना परियोजनामध्ये एक भएको उनको भनाइ थियो।
कम्पनीका अनुसार आयोजनाको पहिलो चरण (लट–१) को काम सम्पन्न भइसकेको छ। हाल डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा १०६ मेगावाटको जगदुल्ला तथा १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास भइरहेका छन्।
आयोजनासँगै डोल्पाको भौतिक पूर्वाधारमा समेत उल्लेखनीय सुधार भएको कम्पनीले जनाएको छ। आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकिएको छ।
ती संरचनाले आयोजना निर्माणलाई सहज बनाउनुका साथै स्थानीयको आवागमन र आर्थिक गतिविधिमा पनि टेवा पुर्याएको कम्पनीको दाबी छ।
सडक पहुँच विस्तारसँगै डोल्पाको यातायातमा समेत परिवर्तन आएको कम्पनीले जनाएको छ। विगतमा नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्ने अवस्था रहेकामा अहिले एकै दिनमा यात्रा सम्भव भएको तथा दुनै–काठमाडौं रात्रिबस सञ्चालनको वातावरणसमेत बनेको जनाएको छ।
आयोजनाबाट विकसित पूर्वाधारले रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुतर्फको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले जनही करिब ९ करोड ५० लाख रुपैयाँका दरले रोयल्टी पाउने अनुमान गरिएको छ। यसले स्थानीय तथा क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार १०६ मेगावाटको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन र आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ।
२०८२ साउन २६ गते मुख्य निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण तीव्र रूपमा अघि बढेको हो।
१२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, पीपीए, वित्तीय व्यवस्थापन र अनुमतिपत्रका प्रक्रिया अन्तिम चरणमा पुगेका छन्।
सरकारी निकायको बहुमत स्वामित्व रहने परियोजनामा सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको संयुक्त ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ।
स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
परियोजनामा करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ। नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।




















प्रतिक्रिया