Logo

प्रमुख समाचार

शिक्षामा राजनीति होइन, दलीयकरण भयो: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनले दाबी गरे। शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा आफ्नो धारणा राख्दै उनले भने, ‘शिक्षामा राजनीति भयो भनिन्छ। शिक्षामा राजनीति भएन भन्छु म। शिक्षामा दलीयकरण भयो। हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु। शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रै मान्छे हो भन्ने तरिकाबाट हामी बाहिर निस्कनुपर्‍यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आयो। दलीयकरणबाट शिक्षालाई बाहिर निकाल्नुपर्‍यो। तर शिक्षा राजनीतिक इस्यू हो। हामीले समुन्नत नेपालको सपना देखेका छौँ, शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनिर योगदान दिनसक्छ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ।’

उनले पार्टीमा आबद्ध भएका हजारौँको सङ्ख्यामा शिक्षकहरूले समुन्नत नेपाल ल्याउनका निम्ति आफ्नो ठाउँबाट काम गर्न सक्ने बताए ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार १५:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।