काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरेबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र आइओटी उपकरणहरूको मर्मत, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ।
सर्भिस सेन्टरमा शाओमीका जेनुइन स्पेयर पार्ट्स प्रयोग गरिने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले आधिकारिक मापदण्डअनुसार गुणस्तरीय र भरपर्दो सेवा पाउने विश्वास कम्पनीको छ।
सर्भिस सेन्टरको सञ्चालन शारदा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्स प्रालिले गर्नेछ। कम्पनीले यसअघि पनि नेपालमा शाओमीका आधिकारिक बिक्रीपछिका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
उद्घाटनका अवसरमा वत्सल इम्पेक्सका निर्देशकद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ सर्भिस सेन्टर सञ्चालनमा आउनुले काठमाडौं उपत्यकाका शाओमी प्रयोगकर्तालाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए।
कम्पनीका अनुसार सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरूको टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्नेछ। साथै, कम्पनीले उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट योजना पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
शाओमीले थप जानकारीका लागि आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा नयाँ सर्भिस सेन्टरमार्फत सम्पर्क गर्न ग्राहकलाई अनुरोध गरेको छ।




















प्रतिक्रिया