Logo

प्रमुख समाचार

भेनेजुएला प्रकरणले ओली सरकारभित्र पनि परकम्प



भेनेजुएला प्रकरणका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार निरन्तर अप्ठेरोमा परेको छ । सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरी माघ ११ गते भेनेजुएलामाथि हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएपछि मुलुकलाई नै अप्ठेरो पर्दै गएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले मिडियामा सरकारलाई कुनै अप्ठेरो नपरेको र अमेरिकासंग विभिन्न माध्यमबाट सम्पर्क भइरहेको बताए पनि भित्रीकुरा भने अमेरिका दिनानुदिन चिंढिएको स्प्ष्ट हुँदै गएको छ ।

सोही अनुरुप भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको विज्ञप्तिमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए।

मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका विज्ञप्तिहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बताएको छ ।

बेरीले अन्य विषयमा पनि छलफल गरे पनि मुख्य विषय भने भेनेजुएला प्रकरण नै थियो । प्रधानमन्त्रीले ओलीले भने नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बताएको छ ।

बेरी सरकारले गत शुक्रबार गरेको कूटनीतिक ब्रिफिङमा भने उपस्थित भएका थिएनन् । सरकारले डाकेको कार्यक्रममा जानुको सट्टा उनले सोही दिन दैनिक पत्रिकाका सम्पादकलाई दूतावासमै बोलाएर छलफल गरेका थिए। नेपाल सरकारले भेनेजुएलाको राजनीति नबुझेको भन्दै उनले खासै साइनो नभएको मुलकबारे नेपालले चासो राखेकोमा प्रश्न गरेका थिए।

शक्ति मुलुकसँगको सम्बन्ध चिसिएपछि राजदूत बेरी सोमबार एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत खासै बोलेनन् ।अमेरिकाले नेपालले पुरानो सम्बन्ध भएको मुलुकलाई नपत्याएर साइनो नै नभएको मुलुकका पछि लागेको भन्दै दुःख प्रकट गर्दै आएको छ।

माघ ११ गतेपछि भेनेजुएला प्रकरणका कारण नेकपाभित्र निरन्तर भूकम्पको परकम्प आइरहेको छ । यसलाई भरथेग गर्नका लागि सचिवालय बैठकले नरम भाषा प्रयोग गर्न खोजे पनि सन्तुलन ल्याउन सकिरहेको छैन ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  २ : ३९ बजे