प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योग गरेको भनी लागेको आरोपबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका १६ जनालाई अदालतले सफाई दिएको छ । यस्तो आरोप २० जनाविरुद्ध लगाइएको भए पनि जिल्ला अदालत भोजपुरले विप्लवसहित सोह्र जनालाई सफाइ दिएको हो ।
भोजपुर जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।
गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उक्त जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो ।
टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०/४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहाललाई उद्धृत गर्दै राससले जनाएको छ ।
केही महीनाअघि मात्र सोही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई पक्राउ गरी भोजपुर लगिएको थियो । ६० हजार नगद धरौटी राखेर प्राण्ड छुटेका थिए ।
प्रतिक्रिया