काठमाडौं । नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई आफ्नो मूल अभियान बनाउँदै आएको पैचो पसलले संस्थागत विकासको अर्को महत्वपूर्ण फड्को मारेको छ ।
आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै कम्पनी पैचो पसल प्रा.लि.बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेसँगै कम्पनीले आफ्नो नयाँ संस्थागत संरचनाअनुसार कारोबार प्रारम्भ गरेको पैचोले जनाएको छ ।
विक्रम संवत २०७१ सालमा स्थापना भएको पैचोले १२ वर्षदेखि नेपाली कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच विश्वासको सशक्त सेतु निर्माण गर्दै आएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृङ्खला विकास गर्दै कम्पनीले नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको सफल मोडलका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।
संस्थागत विकासको नयाँ अध्याय
पब्लिक लिमिटेडमा रूपान्तरणसँगै कम्पनीले आफ्नो पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ प्राथमिकताका रूपमा अघि बढाउने जनाएको छ । पैचो पसल लिमिटेडका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कम्पनीको यो रूपान्तरणलाई केवल कानुनी संरचना परिवर्तनका रूपमा नभई नेपाली कृषि उद्यमको भविष्य निर्माण गर्ने ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या ग रे।
उनले भने, ‘पैचो एउटा व्यवसाय मात्र होइन, यो लाखौं किसानको सपना, उपभोक्ताको विश्वास र स्वदेशी उत्पादनप्रतिको हाम्रो प्रतिबद्धताको साझा अभियान हो । पब्लिक लिमिटेडमा रूपान्तरणसँगै अब यस यात्रामा सर्वसाधारण, लगानीकर्ता र सम्पूर्ण नेपाली समुदायलाई सहयात्री बनाउने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार पैचोको आगामी रणनीति नेपाली कृषि उत्पादनलाई अझ प्रतिस्पर्धी, गुणस्तरीय र विश्व बजारसम्म पुर्याउने दिशामा केन्द्रित हुनेछ ।
आईपीओ तयारी अन्तिम चरणमा
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ ।
स्थानीय उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाउने अभियान
पैचोले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका कृषकसँग प्रत्यक्ष सहकार्य गर्दै ताजा कृषि उत्पादनलाई आधुनिक प्रशोधनमार्फत बजारयोग्य बनाउँदै आएको छ ।
हाल कम्पनीले केचप, जाम, विभिन्न प्रकारका अचार, चुक, छोप, आँटो, कोदोको पिठो, सिन्की, मह लगायत करिब १०० भन्दा बढी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । यी उत्पादनहरू नेपालभरका आधुनिक खुद्रा सञ्जालमार्फत बिक्री भइरहेका छन् भने अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै गएका छन् ।
कृषकसँगै समृद्धिको यात्रा
‘किसान समृद्ध भए मात्रै कृषि समृद्ध हुन्छ, र कृषि समृद्ध भए मात्रै राष्ट्रको अर्थतन्त्र दिगो रूपमा सुदृढ बन्न सक्छ’ भन्ने विश्वासका साथ पैचो पसल लिमिटेडले आगामी वर्षमा लाखौं कृषकसँगको सहकार्यलाई थप विस्तार गर्ने रणनीति लिएको जनाएको छ ।
प्रबन्ध निर्देशक न्यौपानेका अनुसार छरिएर रहेका कृषि उपज संकलन केन्द्रलाई थप विस्तार, आधुनिकीकरण र व्यवस्थित गरिनेछ । यसबाट कृषकले उत्पादन गरेको ताजा कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउने आधार तयार हुनेछ ।
कम्पनीले ‘ताजा तरकारी बिक्री भण्डार’को सञ्जाल विस्तार गर्दै ग्रामिण कृषि उपजको प्रत्यक्ष बजारीकरणलाई सुदृढ बनाउन ब्राण्डिङ गर्ने योजना अघि सारेको छ । त्यससँगै कृषि प्रशोधन उद्योगमा थप लगानी, रोजगारी सिर्जना, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा स्वदेशी कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अवलम्बन गरिएको कम्पनीले जनाएको छ ।
पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरणसँगै पैचो पसल लिमिटेडले नेपालको कृषि अर्थतन्त्रलाई समेत नयाँ उचाइमा पु¥याउने विश्वास लिएको छ ।




















प्रतिक्रिया