काठमाडौं । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव समेटिएको भन्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आघात पुर्याएको उल्लेख गरेको छ ।
महासङ्घले विवादित गीत तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुनसक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा शिक्षक पेसाको सम्मान र मर्यादा कायम राख्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।





















प्रतिक्रिया