Logo

अन्तर्राष्ट्रिय

फिफा विश्वकपः जित्ने खेलाडीले अब ट्रफीसँगै औँठी पनि पाउने



काठमाडाैं । सन् २०२६ को फिफा विश्वकप विजेताले इतिहासमै पहिलो पटक ‘च्याम्पियनसिप रिंग’ (विजेता औँठी) प्राप्त गर्ने भएका छन् । फिफाले बिहीबार यस्तो घोषणा गर्दै यो आफ्नो इतिहासमै पहिलोपटक कुनै प्रतियोगिताको विजेतालाई औँठी प्रदान गर्ने बताएको हो ।

यस औँठीको एकातर्फ फिफा विश्वकपको प्रसिद्ध ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने गरी विशेष डिजाइन गरिनेछ ।

आगामी आइतबारका राति न्यू जर्सीको मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेनबीच विश्वकपको फाइनल खेल हुनेछ। सोही दिन विजेता टोलीलाई प्रतिष्ठित ट्रफी र स्वर्ण पदकसँगै जीतको नयाँ प्रतीकको रूपमा यो ‘च्याम्पियनसिप रिंग’ प्रदान गरिनेछ ।

प्रतियोगिताको वर्षलाई सम्मान गर्दै कुल २,०२६ वटा मात्रै औँठीहरू उत्पादन गरिनेछ । विजेता टोली (खेलाडी र प्रशिक्षक) लाई प्रदान गरिनेछ । १,९९६ वटा औँठी विश्वभरका फुटबल समर्थकहरूका लागि बिक्रीमा राखिनेछ। यसले गर्दा फ्यानहरूले पनि विश्वकप २०२६ को इतिहासको एक अंश आफ्नो साथमा राख्न पाउनेछन् ।

प्रत्येक औँठीमा छुट्टाछुट्टै नम्बर हुनेछ र यसको साथमा आधिकारिकताको प्रमाणपत्र समेत दिइनेछ ।

फाइनल खेल सकिने बित्तिकै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई उत्सव मनाउनका लागि ‘अस्थायी औँठी’ दिइनेछ । त्यसपछि टोलीका ३० जना सदस्यका लागि उनीहरूको हातको सही नाप अनुसार विशेष रूपमा तयार पारिएको स्थायी औँठी पछि एक समारोहबीच हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १६:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।