प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाबारे दिएको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिप्लिएको बताएका छन्।‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मंगलबार साँझ अमेरिकी राजदूत र्यान्डी बेरीसँग बालुवाटारमा भएको भेटमा पनि यो प्रसंग आएको बताए।
‘हिजो राजदूतसँगको भेटमा स्वभाविक रूपमा यो प्रसंग पनि चल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ। यो त्यस्तो जरूरी छैन। अलिकति स्लिप (चिप्लिएको) भएको हो। म भोलिपल्ट आउँदै थिएँ। अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन।’उनले प्रचण्डको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभएको बताए।
‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ प्रचण्डले विज्ञप्ति भनेका थिए, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’
भेनजुयलामाथि अमेरिकी हस्तक्षेप अस्वीकार्य : प्रचण्ड
प्रधानमन्त्री यति कडा भाषामा विज्ञप्ति निकाल्नु पर्ने जरूरी नभएको बताए।‘एउटा जरूरी विषय थिएन। अर्को जुन भाषा प्रयोग भयो त्यो पनि उपयुक्त भएन त्यसले एउटा तरंग ल्यायो,’ प्रधानमन्त्रीले भने,‘ तर कोही एक जनाले साथीले एउटा वक्तव्यमा पछाडि देश-देशको सम्बन्ध अडेको हुँदैन।
त्यसैबाट उत्पन्न भएको पनि होइन त्यसैबाट अन्त्य हुने पनि होइन। जानेर नजानेर यस्ता स-साना घटना र उतारचढाव हुन सक्छन्। केही लाइनको वक्तव्यमा युद्धको घोषणा त गरिएको छैन।’उनले अमेरिकालाई विशाल र सवल मुलुक भएकाले यस्तो सानो कुरामाचित्त दुखाउनु आवश्यक नभएको तर्क गरे।
‘केही जीव कुनै सानो चिजले छुँदा प्राणै जाने खालका हुन्छन्। विशाल जनावरको त टाउकामा केही बस्यो भने पनि त्यसले थाहा पाउँदैन। अमेरिका त्यत्रो देशले यस्ता स-साना कुरामा अल्झिराख्नु वाञ्छनीय पनि हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सम्बन्ध बिग्रियो भन्ने धेरै हल्ला छ त्यस्तो होइन। अलिकति आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला।’
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बेलाबेलामा चिप्लिने गरेको बताए। केही दिनअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले नेपाल र भुटानलाई भारतको भूमि मान्ने गरेको समाचार लेखेका थिए।
‘ठूलाहरूका पनि स्लिप हुन्छन्। हामी देखिरहेका छौं। हामीजस्तो सानो देशलाई अर्को देशको अंग हो भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र!,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन पनि नपाउने ठूलो भयो भने धेरै चित्त दुखाउनु पर्ने हो र ?’
उनले आफू त्यतिबेला नेपालमै भएको भए नेकपाको यस्तो विज्ञप्ति नआउने बताए। माघ ११ गते प्रचण्डले विज्ञप्ति जारी गर्दा प्रधानमन्त्री ओली स्विट्जरल्याण्डमा थिए।
‘हाम्रा स्पष्ट र स्थीर नीतिहरू छन्। त्यससम्बन्धमा हामीले हाम्रा धारणा स्पष्ट पारिसकेका छौं। जस्तो भयावह चित्रण गर्न खोजिरहेका छन् त्यस्तो होइन,’ प्रधानमन्त्रीले भने, ‘त्यो स्लिप भएको हो त्यसमा अल्झिनु वाञ्छनीय हुँदैन।’
प्रतिक्रिया