नेपालगञ्ज ।नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा १९ वटा बेवारिसे मिटर फेला परेका छन्।
वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार खजुरा गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा १४ वटा र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच वटा बेवारिसे मिटर भेटिएका हुन्।
ती मिटरमार्फत करिब तीन लाख युनिट बराबर विद्युत् खपत भएको पहिचान गरिएको र त्यसलाई राजस्वको दायरामा ल्याई लगत कायम गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए। उनका अनुसार केही उपभोक्ताले बक्यौता रकम बुझाइसकेका छन् भने बाँकीले तिर्ने प्रक्रिया अघि बढाएका छन्।
अभियानका क्रममा विभिन्न स्थानका घर तथा खेतमा मिटरबिनै विद्युत् प्रयोग भइरहेको समेत भेटिएको प्रमुख मिश्राले बताए। उनका अनुसार चुहावट नियन्त्रण अभियान प्रभावकारी बन्दै जाँदा विद्युत् चुहावट घट्नुका साथै राजस्व संकलन पनि बढेको छ।
उपवितरण केन्द्र खजुराका इन्चार्ज दिनेश वली नेतृत्वको टोलीले गाउँ–गाउँमा पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका काम गरिरहेको छ।
वलीका अनुसार पाँच एम्पियर क्षमताका मिटरमा नियमविपरीत १६, १५ र ३२ एम्पियरसम्मका एमसीबी प्रयोग गरिरहेका ७४३ ग्राहकको डिमान्ड चुहावट नियन्त्रण गरिएको छ।
ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक शुल्क असुल्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रले जनाएको छ।
चुहावट नियन्त्रणसँगै सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइएको वितरण केन्द्रले जनाएको छ।
इन्चार्ज वलीका अनुसार पहुँचबाहिर रहेका तथा गुनासा राख्न नसकेका ग्राहकका समस्या पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको छ।
आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारको कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए।




















प्रतिक्रिया