सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको आचारणलाई लिएर आलोचना भएको छ ।केन्द्रीय नेताहरूले साधारण जीवन र शैली अपनाउनुको साटो तडकभडक गर्ने कार्यले पार्टीलाई नोक्सानी हुने भनेर केही नेताहरूले चिन्ता जनाएका छन् ।
कम्युनिस्ट पार्टीको आचरणअनुसारको व्यवहार गर्न नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले घुमाउरो भाषामा सचेत गराएका छन् । उनले ठूलो फूलको माला लगाइदिने समूहसँग सचेत रहन सुझाव दिएका छन् ।
माओवादी पृष्ठभूमि भएका नेकपाका नेता जनार्दन शर्माले सर्लाही जिल्ला पुगेर पचास किलोको माला लगाएपछि केन्द्रीय सदस्य थापाले आलोचना गरेका हुन् ।यसअघि रौतहट पुगेर मन्त्री समेत रहेका नेता वर्षमान पुनले एक सय किलोको माला लगाएका थिए । मन्त्री पुनको पनि खुलेरै आलोचना भएको थियो ।
‘रौतहटमा मन्त्री वर्षामान पुन र मेयर सियाराम कुशवाहपछि मध्य तराईको अर्काे जिल्ला सर्लाहीमा यो दृश्य देखेर फेरि आँखा बिझाए । माला कति किलोको हो ? फूल कहाँको हो ? आयोजक को हो ?’, केन्द्रीय सदस्य थापाले भनेका छन्, ‘पुष्प व्यवसायीहरूले यसरी माला लगाइदिएका हुन कि ? आखिर यसो गरेर विशेष उपलब्धि के भयो ? माला लगाउँदा ख्याल गर्नु मनासिब हुन्छ होला ।
लगाइदिनेका त स्वार्थ अपरम्पार छन् होलान् । यत्तिकै यो हदको चाचु किन गरिरहन्थे र ? जनार्दन शर्मा जस्ता अँध्यारो हटाएर उज्यालो नेपालको यश कामले हासिल गरेका कडा मिजासका नेतासमेतले यस्तो चा चु गर्नेहरूको सातो उडाउन नसक्नु लाजमर्दाे मजाक भयो ।’
बिहीबार बिहान फेसबुकमा स्टासट लेखेर थापाले भनेका छन्, ‘यसरी मन पराएको केटा जेठाजु पर्यो भनेजस्तै किन भइरहेको होला ?’
प्रतिक्रिया