Logo

विविध

महाकालीमा जलस्तर घट्याे, वनबासा पुलबाट भारततर्फ पुनः यातायात सञ्चालन



महेन्द्रनगर। महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि  शारदा ब्यारेज (वनबासा पुल) मा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले मंगलबार बेलुकी महाकाली नदीमा पानीको बहाव ८६ हजार क्युसेक मापन गरिएको जानकारी दिए।

“आज दिउँसोसम्म नदीमा पानीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो,’ प्रवक्ता रावतले भने, ‘महाकालीमा जलस्तर घटेसँगै बनबासा पुलमा सवारीसाधन सञ्चालन भएको छ।’

पानीको बहाव बढ्दा मङ्गलबार बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारीसाधन रोकिएका थिए।

भारतीय पक्षले एक सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला चारपांग्रे सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ।–रासस

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार ०७:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।